फोहोर व्यवस्थापन र सफा सहर
धेरै दिनसम्म मैले विद्यालय जाँदा आँउदा काठमाडाैँका चोकहरूमा फोहोरको थुप्रो देखिरहेको थिएँ । भक्तपुरको कटुृन्जेबाट सिफल पुगुन्जेलमा बाटोमा लगभग दर्जनभन्दा बढी चोकहरूमा प्लास्टिकका झाेलाहरू भएका भरिभराउ फोहोर देखेपछि मेरो मनमा अनेक कुराहरू खेलिरहेका थिए । त्यही भएर मैले विद्यालयबाट घर फर्किए पछि मेरा वुवा आमालाई यस बारेमा जिज्ञासा राखेँ । उँहाहरूले भन्नु्भयो कि, एक हप्ता यतादेखि सिसडोलबासीले काठमाडाैँको फोहोर सिसडोल र बन्चरेडाँडा भन्ने ठाँउमा फाल्न नदिएर यस्तो भएको हो । हप्तादिन भन्दा बढी समयदेखि हाम्रा घरको फोहोर नि घरमा नै व्यवस्थापन गरिरहेको कुरा पनि मैले बल्ल थाहा पाएँ । यो सुनेर मैले यो सिसडोल र बन्चरेडाँडा भनेको के हो र काठमाडाैँको फोहोरसँग यसको के सम्बन्ध छ भन्ने कुरा मेरा बुबा आमालाई सोधेँ । उहाँहरूबाट थाहा भयो कि, विगतका केही वर्षदेखि काठमाडाैँको फोहोर नुवाकोटको सिसडोल र धादिङको बन्चरेडाँडामा फालिँदै आएको रहेछ तर त्यहाँ व्यवस्थित रूपलेफोहोर नफालेका कारण काठमाडाैँका सहरबाट निस्कने फोहोर फाल्न उनीहरूले नदिने भनि अवरोध गरिरहेका रहेछन् ।हुन पनि हो फोेहोरले हाम्रो स्वास्थ्यमा मात्र हाेइन यसले पर्यावरणलाई नै नराम्रो असर पार्छ । यसले वातावरणमा भएक बोटबिरुवा, पानीका स्रोतहरू, हावा र माटोमा नकारात्मक असर पार्छ र मानव जीवन लगायत जनावर, पंक्षी, जलचर सबैमा नराम्रो असर परिरहेको हुन्छ । मैले त कति ठाँउमा जनावरले यी फोहोरहरू खाएको पनि देखेको छु जुन उनीहरूका लागि हानीकारक हो । यस्तो गम्भीर विषयमा हामी सहरबासीहरूले किन नबुझेर यसरी घरको फोहोर सडकमा र अन्य गाँउमा दुर्गन्धित बनाएका हौला ? समाचारमा सुनेअनुसार सिसडोलबासीमा छालाको रोग र क्यान्सर भएर धेरै जनाको मृत्यु भइसकेको छ रे । त्यँहाका पानीका मुल पनि फोहोर भएका छन् रे तर त्यहाँका गाईवस्तुले त्यही पानी खान बाध्य छन् रे ।हामीले घरमा प्रयोग गरिने वस्तु र सामानहरूको उचित व्यवस्थापन गर्न नसक्दा यसरी हाम्रो वरिपरिको वातावरण फोहोर भइरहेको कुरा मेरी आमाले बताउँदा मलाइ लाग्यो कि, किन हामी घरेलु फोहोरमैलाको व्यवस्थापनमा यति उदासिन र अनुचित व्यवहार गरिरहेका छौँ ? । हामीले गरेको यस्तो व्यवहारले त्यो फोहोरको नजिक बस्ने मानवहरूलाई कति धेरै शारीरिक र मानसिक समस्या भएको होला ? भन्ने कुरा मेरो मनमा खेलिरहेको छ । यस्तो फोहोरको कारण मानिसहरूलाई झाडापखाला, ज्वरो, खोकी, टाउको दुख्ने, लगायत क्यान्सर र छालाको रोग नि लाग्ने कुरा हामीले विद्यालयमा पढेका थियौं । अझ यस्ताे फोहोरले फोहोर जम्मा गर्ने कामदार र कर्मचारी अनि सिसडोल र बन्चरेडाँडाबासीलाई कति जोखिम हुन्छ भन्ने कुरा किन कसैले नसोचेका होलान् ?हामीले घरबाट निस्केकाे फोहोरको हामी आफैँले व्यवस्थापन गर्न सकिएला नि । हामीले दैनिक प्रयोग गरिने प्लास्टिकजन्य वस्तुको न्यून वा शून्य प्रयोग गरी भान्साबाट निस्कने फोहोरलाई कम्पोष्ट (अर्गानिक मल) बनाएर कौसी खेती वा गमलामा फूल रोपेर प्रयोग गर्न सके धेरै फोहोरको व्यवस्थापन हुन्थ्यो । जुन मेरी आमाले गर्दै आएको मैले देखेको छु । घरमा प्रयोग गरिने कुराबाट निस्केको फोहोरलाई कुहिने फोहोर, नकुहिने फोहोर, सिसा वा प्लास्टिक जुन पुनः प्रयोग गर्न सकिन्छ भन्दै मेरो घरमा यसकाे अभ्यास गरेको म देख्छु । त्यस्ता फोहोरको फरक फरक पोका बनाएर फोहोर उठाउने गाडीमा पठाउन सके अझ फोहोरमा काम गर्ने कामदार र कर्मचारीलाई कम जोखिम हुने थियो होला । महानगरले पनि यसकाे लागि बेलैदेखि पहल गरेर मल बनाउने तालिम र पुनः प्रयोग गर्न सकिने सामानको कारखाना खोलेर रोजगार दिन सकेमा फाेहाेर व्यवस्थापनकै कारणबाट नेपालकाे आर्थिक अवस्था पनि सुदृढ हुने थियाे । फोहोर उठाउन आउने गाडी पनि फरक फरक दिन पारेर कुहिने फोहोर एक दिन र नकुहिने फोहोर अर्को दिन उठाउन आएर कामदार र कर्मचारीलाई न्याय पुग्थ्याे ।यस बारेमा हाल काठमाडाैँमा निर्वाचित मेयर बालेन साहले दीर्घकालीन समाधानका लागि सिसडोलबासी, बन्चरेडाँडाबासी लगायत विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरूसँग बैठक गरिरहेको कुरा समाचारमा आइरहेको छ । यो सुन्दा मलाई साह्रै खुसी लागेको छ । यो कुरा हामी नगरबासीका लागि झनै खुसीको कुरा हो । त्यसैले यसका लागि हामी नगरबासीले मेयरको योजनामा हातेमालो गर्दै फोहोर व्यवस्थापनमा सहयोग गरी मेयरको “फोहोरबाट मोहोर” भन्ने नारालाई सार्थक बनाउन सहयोग गरौँ र स्वस्छ, सफा सहर निर्माणमा योगदान पुर्याऔँ ।
0 reads
Published on 7/6/2022
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 8
Roll No: 27014
39
More Articles from
Student